Skin_Hospital_Dhn

कञ्चनपुरमा मझगाउँ विमानस्थल निमार्णको काम रोकियो

कञ्चनपुरमा मझगाउँ विमानस्थल निमार्णको काम रोकिएको छ। कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्रमा परेको थियो। विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित भएको हो।

विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ। उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ । रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जग्गासहित विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार पाँच सय २५ मिटर पुग्छ । तर अहिले धावनमार्गको लम्बाइ एक हजार मिटर मात्रै छ। जमिनको भोगाधिकार विमानस्थलका नाममा नहुँदा धावनमार्ग निर्माणको काम रोकिएको विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताउनुभयो ।

उहाले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । जग्गा प्राप्तिकालागि तीन वटा मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्नुपर्नेमा ढिलाइ भइरहेको उनको भनाइ छ ।

पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायतको काम हुनेछ। दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि ०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल संकटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो ।

सम्बन्धित
Loading...