कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच भोली (शुक्रबार) पहिलो खेल हुनेछ । यो खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे खेल्नेछन् । क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ ।
हिजो बिहान भएको खेलमा स्विट्जरल्याण्डलाई फराकिलो गोलले हराउँदै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको थियो । पोर्चुगलले स्विट्जरल्याण्डलाई ६–१ गोलले हरायो । पोर्चुगलका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो ।
बुधवार भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्यो । निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको थियो ।