Skin_Hospital_Dhn

नेपाल स्कटल्यान्डसंग १७ ओभरमै पराजित

धनगढी । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया जारी सिरिजको अन्तिम खेलमास्कटल्यान्डसँग नेपाल ८ विकेटले पराजित भएको छ।

नामिबिया, स्कटल्यान्ड र नेपाल समिलित त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले बिहीबार स्कटल्यान्डलाई जितका लागि १ सय १९ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा उक्त लक्ष्य स्कटल्यान्डले १७ ओभरमानै २ विकेट गुमाएर पूरा गर्‍यो।

स्कटल्यान्डका लागि जर्ज मुन्सीले ४५ रन बनाउँदा क्रिस्टोफर म्याकब्राइडले ४६ रनको नटआउट इनिङ खेले। त्यस्तै कप्तान रिची बेरिङ्गटन १२ रनमा नटआउट रहे। ओपनर क्याली कोटजर भने १६ रनमा आउट भएका थिए। नेपालका लागि गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिएका थिए।

स्कटल्यान्डसँग पराजित भएसँगै नेपाल सिरिजमा जितविहीन रह्यो। पहिलो खेलमा वर्षाका कारण नामिबियासँग १ अङ्क पाएको नेपालले त्यसपछिका लगातार दुई खेल गुमाउन पुग्यो।

त्यसअघि बिहीबार युनाईटेड क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ३५.३ ओभरमा १ सय १९ रन बनाउँदा अलआउट हुन पुगेको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलको ४७ रन सर्वाधिक रनका रुपमा रह्यो। उनी बाहेक दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउँदा सोमपाल कामीले १६ रन जोडेका थिए। थप दोहोरो रनको स्कोरका रुपमा सागर ढकालको ११ रन रह्यो।

नेपाललाई सस्तैमा समेट्ने क्रममा ब्रान्डन मक्मुलेन, सफायन सरीफ र मार्क वाटले समान २–२ विकेट लिंदा क्रिस सोले, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्राभेसले समान १–१ विकेट लिएका थिए।

जारी विश्वकप लिग टू मा नेपाल २४ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहँदा। स्कटल्याण्ड भने ३२ खेलबाट ४६ अंकका साथ पहिलो स्थानमा छ।

सम्बन्धित
Loading...