Skin_Hospital_Dhn

निर्वाचनमा अन्तरघात गरेको भन्दै गाउँपालिका अध्यक्ष एमाले बाट निष्कासन

धनगढी ।
नेकपा (एमाले) बैतडीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गर्न नेकपा एमालेले सिफारिस गरेको छ ।

मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटीको बुधबार बसेको बैठकले पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो । प्रदेशसभा सदस्य तथा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न प्रदेश कमिटिलाई सिफारिस गरिएको बताए ।

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द वशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । एमालेका प्रदेश कमिटी सचिवालय सदस्य रहेका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको पालले बताए ।

मंसिर ४ मा सम्पन्न भएको निर्वाचनबाट उनको क्षेत्रमा पर्ने प्रदेशसभाका उम्मेदवार लिलाधर भट्ट झिनो मतान्तरले पराजित भएका थिए । भट्ट पराजित हुनुमा चन्दको असहयोग रहेको एमालेको जिल्ला कमिटीले निश्कर्ष निकालेको छ ।

छानविनका लागि जिल्ला कमिटी सचिव चक्र कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । छानबीनसमितले गाउँपालिका अध्यक्ष चन्दलाई पार्टी विधानको धारा ८० को उपधारा १, २, ३, ४, ५, ७ र १२ अनुसार पार्टी हितबिरुद्ध काम गरेको निष्कर्ष निकालेको छ ।

Loading...