धनगढीलाई भ्रष्टाचारमुक्त बनाउन मेयर हमाल बने जनताका सहयात्री, नमस्ते मेयर जनगुनासो सुनवाइ सेवामा कसरी टिपाउने गुनासो?
धनगढीलाई भ्रष्टाचारमुक्त बनाउन धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल जनताका सहयात्री बनेका छन् ।
धनगढी । धनगढीलाई भ्रष्टाचारमुक्त बनाउन धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल जनताका सहयात्री बनेका छन् ।
धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याइएको नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा बाट मेयर हमाल जनताका सहयात्री बनेका हुन् । भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन प्रवर्द्धनका लागि उक्त सेवा सञ्चालनमा ल्याइएको छ।
यूएनडीपीको सहयोगमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा उपमहानगरले शुक्रबारदेखि यो सेवा सुचारु भएको जनाएको छ। धनगढीका नगर प्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र शिक्षाविद् तथा प्राध्यापक डा। हेमराज पन्तले संयुक्त रुपमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवाको शुभारम्भ गरेका थिए।
उक्त सेवा अन्तरगत सेवाग्राहीले गुनासो क्युआर कोड स्क्यान गरेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम, वाट्सएपमार्फत पनि गुनासा टिपाउनसक्ने व्यवस्था मिलाइएको छ।
गुनासा तथा सुझाव संकलनका लागि यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले छुट्टै जनगुनासो इकाइ पनि बनाएको छ। जनगुनासाका लागि १६६०९१५२७७७ को टोल फ्री नम्बर पनि राखिएको छ। नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा शुभारम्भ गर्दै धनगढीका नगर प्रमुख हमालले धनगढीलाई भ्रष्टाचारमुक्त बनाउन सबैको सहयोग आवश्यक भएको बताए। उनले उपमहानगरपालिकाबाट प्रवाह हुने सेवासुविधालाई छिटोछरितो प्रवाह गर्दै भ्रष्टाचारमुक्त नगर बनाउने चाहानामा सबैले साथ दिनेमा पनि विश्वस्त रहेको बताए।
नमस्ते मेयर जनगुनासो सुनवाइ सेवामार्फत सर्वसाधारणले टिपाउने गुनासा छिटोछरितो सम्बोधन गर्ने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ।