डोटीमा अदुवा खरिद गर्न किसानका बारीमा पुगे व्यापारी

डोटीः डोटीका किसानका बारीमा व्यापारी अदुवा खरिद गर्न पुगेका छन । झापाका एक व्यापारी डोटीको बडीकेदार गाउँपालिका–३ का उपेन्द्र मल्लको बारीमा पुगेका हुन । मल्लले उत्पादन गरेको ६० क्विन्टल अदुवा खरिद गर्न झापादेखि एक जना व्यापारी उनको बारीमा नै पुगेका छन् ।

सडक यातायातको सहज पहुँच र वार्षिक रूपमा अदुवाको उत्पादन वृद्धिसँगै कृषक मल्ल जस्तै डोटीमा व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका किसानको खेतबारीबाटै व्यापारीले अदुवा खरिद गरेर लैजाने गरेका छन् । स्थानीयस्तरमा व्यावसायिक रूपमा अदुवा उत्पादन गर्दै आएका कृषक मल्लले भने, “काठमाडौँ, पूर्वमा विराटनगर, झापासँगै छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत अदुवा खरिद गर्न गाडी लिएर व्यापारीहरू घरसम्मै पुग्छन्।”

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

स्थानीयस्तरमा उत्पादन भएको अदुवा बिक्रीका लागि बजारको समस्या नभएपछि अदुवा उत्पादन गर्ने किसानको सङ्ख्या पनि बर्सेनि बढ्दै जान थालेको छ । डोटीमा सबैभन्दा बढी अदुवा उत्पादन हुने क्षेत्रका रूपमा बडीकेदार गाउँपालिकालाई लिइएको छ।

बडीकेदारसँगै बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिकामा अदुवा उत्पादन हुने गरेको छ । अदुवा उत्पादनका क्रममा किसानले रासायनिक मलको प्रयोग गर्दैनन। प्राङ्गारिक मलको प्रयोग गरेर यस क्षेत्रमा अर्गानिक हिसाबले अदुवा उत्पादन हुँदै आएको छ।

बोगटान फुड्सिल गाउँपालिका–२ मा अदुवा उत्पादनमा संलग्न स्थानीय कृषक पुष्कर बोहराले भने, “त्यसै पनि आवश्यक परेको समयमा स्थानीय बजारमा रासायनिक मल पाइँदैन, हामीले पहिलेदेखि नै घरमै पाइने गोठेमल प्रयोग गर्दै आएका छौँ। हामीले उत्पादन गर्ने अदुवालाई उपभोक्ताले अर्गानिक अदुवाका रूपमा लिने गरेका छन्।”

Gaurishankar Dental

अदुवाका लागि मल धेरै चाहिने भएकाले वर्षैपिच्छे जमिन फेर्नुपर्ने हुन्छ। उत्पादनका क्रममा किसानले प्राङ्गारिक मल मात्रै प्रयोग गरेका कारण यस क्षेत्रमा उत्पादन हुने अदुवालाई उपभोक्ताले अत्यधिक मन पराउने गरेको धनगढीका अदुवा व्यापारी पुष्कर जोशीले बताए। व्यवसायी जोशीले भने, “डोटीमा उत्पादन हुने अदुवाको माग बजारमा राम्रो छ । धनगढीदेखि देशका विभिन्न स्थानका साथै भारतमा समेत यहाँको अदुवा बिक्रीका लागि पठाउने गरेका छौँ।”

जिल्लाका ग्रामीण क्षेत्रसम्म सहजै यातायात र ढुवानीको व्यवस्था, बजारसम्मको सहज पहुँच र आम्दानी पनि राम्रै हुने गरेका कारण डोटीमा किसानले बर्सेनि अदुवा खेतीलाई व्यावसायिक रूपमा गर्दै आएका छन्।

कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीका अनुसार यस जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ८५० हेक्टर जमिनमा अदुवा खेती गरिएकामा १३ हजार २४६ मेट्रिक टन अदुवा उत्पादन भएको छ ।

त्यस्तै, आर्थिक वष २०७८/७९ मा ८४५ हेक्टर जमिनमा अदुवा खेती गरिएकामा १३ हजार एक सय मेट्रिक टन र आर्थिक वर्ष २०७७/७८ मा ७८० हेक्टरमा अदुवा खेती गरिएकामा ११ हजार सात सय मेट्रिक टन अदुवा उत्पादन भएको थियो।

अदुवा बढी उत्पादन हुने विभिन्न क्षेत्रलाई अदुवा पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारी भइरहेको छ । किसानले गत वर्ष प्रतिकिलो ७० रुपियाँदेखि १३० रुपियाँसम्ममा अदुवा बिक्री गरेका थिए।

उत्पादन बढ्दै गए पनि भण्डारणको व्यवस्था हुन नसक्दा अदुवा उत्पादनलगत्तै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । अदुवा भण्डारणको उचित व्यवस्थापन हुन सकेमा बेमौसममा आफूले मागेको मूल्य लिन सकिने किसान बताउँछन् । गोरखापत्रबाट साभार

DHN_Aaglagi
सम्बन्धित
Loading...